२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

सरकारले थाल्यो उपत्यकाका सुकुम्वासी बस्ती हटाउन, वास्तविक सुकुम्वासीलाई अपार्टमेन्टमा सारिने

सरकारले थाल्यो उपत्यकाका सुकुम्वासी बस्ती हटाउन, वास्तविक सुकुम्वासीलाई अपार्टमेन्टमा सारिने

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका नदी किनार र सरकारी जग्गामा बनेका अनधिकृत घरटहरा हटाउने कामलाई तीव्रता दिएको छ। शनिबार थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराइएको छ भने गैरीगाउँ र शान्तिनगरको बस्ती पनि हटाउने क्रम चलिरहेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ।

यसैगरी गोठाटार र मनोहरा टोलका अनधिकृत बस्ती पनि खाली गर्ने सरकारको तयारी छ। उपत्यका विकास प्राधिकरणका अनुसार विभिन्न ठाउँमा रहेका कुल ८७१ अनधिकृत घरधुरीमध्ये केही भत्काइसकिएको छ।

बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीले सामान ओसार्न सहयोग गरेका थिए। स्थानीयको समेत साथ पाएपछि थापाथलीमा शान्तिपूर्ण रूपमै बस्ती खाली गराइएको सचिवालयले बताएको छ।

अहिलेसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई दशरथ रंगशाला लगेर विवरण संकलन गर्दै काठमाडौंका विभिन्न होटेलमा राख्ने तयारी छ। उनीहरूका घरायसी सामान भने कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यासमा सुरक्षित रूपमा राखिएको छ।

होटेलमा राखिएका परिवार वास्तविक सुकुम्वासी हुन् वा होइनन् भनेर आइतबारदेखि छानबिन गर्न थालिनेछ। वास्तविक सुकुम्वासी ठहरिएकालाई दुई साताभित्र नागार्जुनस्थित सरकारी भवनमा राखेर उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने प्रधानमन्त्रीको सचिवालयले प्रस्ट पारेको छ।