संवैधानिक परिषद् अध्यादेश फेरि राष्ट्रपतिलाई पठाइने
- २१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको यो अध्यादेश सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः पठाउने निर्णय गरेको हो। यसको जानकारी सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले दिए।
बैठकले उद्योगहरूमा पुराना उपकरण हटाएर विद्युतीय उपकरण राख्न र हावाको गुणस्तर नाप्ने क्षमता बढाउन विश्व बैंकबाट सहुलियत ऋण तथा अनुदान लिने निर्णय पनि गरेको छ।
यसैगरी, भारत सरकारसँग सिधै सम्झौता गरेर ६० हजार टन युरिया र २० हजार टन डिएपी मल किन्न कृषि सामग्री कम्पनीलाई स्वीकृति दिइएको छ। संसद् भवन प्रवेशलगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना पनि स्वीकृत भएको मन्त्री पोखरेलले बताए।