बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा सम्पन्न
- २१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- काभ्रेपलाञ्चोकको बनेपामा मनाइने ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल पूर्णिमाको अवसरमा तीन दिनसम्म चल्ने यो जात्रा आइतबार साँझ सकिएको हो।
करिब २५ सय वर्ष पुरानो मानिने यस जात्रामा शनिबार चण्डेश्वरी देवीलाई खट (रथ) मा राखेर बनेपाको पुरानो बजार घुमाइएको थियो। आइतबार साँझ देवीको मूर्तिलाई फेरि मन्दिरमै लगेपछि जात्रा औपचारिक रूपमा सकिएको हो।
विशेषगरी नेवार समुदायले मनाउने यो जात्रा बनेपाका बासिन्दाको ठूलो चाड हो। बिहीबार चण्डेश्वरी मन्दिरभित्र बोकाको बलि दिएर ‘सरकारी पूजा’ गरेपछि जात्रा सुरु भएको थियो। शुक्रबार हजारौँको सहभागितामा खाली खटलाई मन्दिर पुर्याएर देवीको मूर्ति राखिएको थियो। जात्राका क्रममा स्थानीयले घरको झ्यालबाटै रथमा बसेकी देवीलाई प्रसाद चढाएका थिए।
जात्राको अन्तिम दिन आइतबार ‘कलंदान’ गर्दै वकुटोल हुँदै मूर्तिलाई सानो खटमा राखेर मन्दिरमा पुर्याइएको थियो। जात्रा अवधिभर बनेपाका नेवार समुदायले घरघरमा भोज खाएका छन् भने सडक र गल्लीमा जात्रा हेर्नेको ठूलो भिड लागेको थियो।
‘मागेको पुग्ने’ विश्वास गरिने शक्तिकी देवी चण्डेश्वरीको पूजा गर्न टाढाटाढाबाट पनि भक्तजनहरू आउने गर्छन्। जात्राको अवसरमा बनेपा नगरभित्र सार्वजनिक बिदा समेत दिइएको थियो।