जोमसोममा १५ दिने मूर्तिकला कार्यशाला सम्पन्नः शालिग्राममा कुँदिए २५ वटा मूर्ति
- २१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- मुस्ताङको घरपझोङ गाउँपालिकाले जोमसोममा आयोजना गरेको १५ दिने ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला’ सोमबार सकिएको छ। धार्मिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको हो।
ललितकला प्रज्ञा प्रतिष्ठानका २१ जना र २ जना अतिथि मूर्तिकार मिलेर कार्यशालामा २५ वटा मूर्ति बनाएका छन्। उनीहरूले कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम ढुङ्गामा शिव, पार्वती, विष्णु, नारायण र बुद्धका मूर्ति कुँदेका छन्। यसका साथै मुस्ताङमा पाइने हिउँचितुवा र याक जस्ता जनावरका मूर्ति पनि बनाइएका छन्। प्रतिष्ठानका मूर्तिकार दिनेश्वर महतोले कार्यशाला सकिए पनि मूर्तिको सजावटको केही काम बाँकी रहेको बताए।
गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले शालिग्राम लोप हुनबाट जोगाउन र पर्यटकलाई आकर्षित गर्न पार्क बनाउन लागिएको बताए। कालीगण्डकी किनारमा २२ फिट अग्लो शालिग्राम शिलामा मूर्तिसहितको पार्क बनाउने गाउँपालिकाको तयारी छ। सडक सञ्जालले गर्दा घटेको पर्यटकको बसाइ अवधि लम्ब्याउन यसले मद्दत गर्ने अध्यक्ष लालचनले बताए। गाउँपालिकाले आगामी वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरको मूर्तिकला कार्यशाला गर्ने योजनासमेत बनाएको छ।