२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

बन्चरो बोकेर छिमेकी तर्साउने व्यक्तिबाट न्युयोर्क अपार्टमेन्टमा त्रास

बन्चरो बोकेर छिमेकी तर्साउने व्यक्तिबाट न्युयोर्क अपार्टमेन्टमा त्रास

न्युयोर्क- अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्समा एक व्यक्तिले बन्चरो र घन बोकेर अपार्टमेन्टमा घुम्दै छिमेकीहरूलाई वर्षौंदेखि तर्साउँदै आएको घटना बाहिर आएको छ। एन्थोनी ओरोस्को नाम गरेका ती व्यक्ति नक्कली कपाल लगाएर र कहिलेकाहीँ नाङ्गै हतियारसहित अपार्टमेन्टको प्यासेजमा घुम्ने गरेका छन्।

छिमेकीहरूले ढोकाको प्वालबाट खिचेको भिडियोमा उनले बन्चरो देखाउँदै स्पेनिस भाषामा “ढोका खोल” भनेर चिच्याएको देखिन्छ। अपार्टमेन्टमा बस्ने एलेक्जेन्ड्रा रेइनाले उनी हातमा जे भेट्टाउँछन् त्यसैले ढोका फुटाउन खोज्ने बताइन्। उनले यस्तो मान्छेसँग कसरी बस्ने भन्दै बेलैमा नरोके उनले कसैको ज्यानै लिन सक्ने डर व्यक्त गरिन्।

अर्की छिमेकी लियोनिया क्लेमेन्टेको ढोकामा घनले हानेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्। गत महिना मात्रै उनलाई प्रहरीले हतकडी लगाएर पक्राउ गरेको थियो। लियोनियाले अदालतबाट उनको विरुद्धमा अस्थायी सुरक्षा आदेश पनि लिएकी छन्। अपार्टमेन्ट व्यवस्थापनले उनलाई त्यहाँबाट निकाल्ने कानुनी प्रक्रिया सुरु गरेको छ। तर, एन्थोनीले भने आफ्नो अपार्टमेन्टको ढोकामा उभिएर आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्। गत अगस्टमा पनि उनलाई छिमेकी तर्साएको आरोप लागेको थियो।