२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

हान्ताभाइरस संक्रमितको सम्पर्कमा पुगेका न्युजर्सीका दुई जना निगरानीमा

हान्ताभाइरस संक्रमितको सम्पर्कमा पुगेका न्युजर्सीका दुई जना निगरानीमा

न्युयोर्क- न्युजर्सीका दुई जना बासिन्दालाई हान्ताभाइरस संक्रमण भएको आशंकामा स्वास्थ्य अधिकारीहरूले निगरानीमा राखेका छन्। उनीहरूमा अहिलेसम्म यसको कुनै लक्षण देखिएको छैन।

ती दुई जना हान्ताभाइरस फैलिएको ‘एमभी होन्डियस’ पानीजहाजका यात्रु भने होइनन्। जहाजबाट बाहिरिएका एक संक्रमित यात्रुसँगै हवाई यात्रा गर्ने क्रममा उनीहरू सम्पर्कमा पुगेको अधिकारीहरूले बताए।

यो भाइरसको लक्षण शरीरमा देखिन ४ देखि ४२ दिनसम्म लाग्न सक्छ। लक्षण नदेखिएका व्यक्तिबाट यो रोग अरूलाई सर्दैन। न्युजर्सीका गभर्नर मिकी शेरिलले यसबाट सर्वसाधारणलाई तत्काल जोखिम नरहेको र राज्यमा अहिलेसम्म कोही पनि संक्रमित नभएको बताए।

अमेरिकामा पाइने हान्ताभाइरस सामान्यतया मुसाबाट सर्छ र मानिसबाट मानिसमा सर्दैन। तर, यो घटनामा देखिएको ‘एन्डिज’ भाइरस दक्षिण अमेरिकामा पाइने प्रजातिको हो। यो मानिसबाट मानिसमा सर्न सक्छ, यद्यपि यसका लागि संक्रमितसँग धेरै नजिकको सम्पर्क हुनुपर्छ। गोपनीयताका कारण ती दुई व्यक्तिको परिचय भने खुलाइएको छैन।