५ साउन २०८३, मङ्लबार
21 July 2026, Tuesday

अमेरिकी युवामा रोजगारीलाई लिएर निराशा बढ्यो, वृद्धहरू भने अझै आशावादी

अमेरिकी युवामा रोजगारीलाई लिएर निराशा बढ्यो, वृद्धहरू भने अझै आशावादी

न्युयोर्क- अमेरिकामा जागिरको बजारलाई लिएर युवाहरूमा निकै निराशा देखिएको छ। ग्यालपले सोमबार सार्वजनिक गरेको नयाँ सर्वेक्षणअनुसार पछिल्लो दुई वर्षमा युवाहरूको आत्मविश्वास ह्वात्तै घटेको छ।

सर्वेक्षणमा १५ देखि ३४ वर्ष उमेर समूहका ४३ प्रतिशत युवाले मात्र अहिले जागिर खानका लागि राम्रो समय भएको बताए। तर, ५५ वर्षभन्दा माथिका ६४ प्रतिशत मानिसहरू भने अझै पनि जागिर पाउन सकिनेमा ढुक्क देखिएका छन्। विश्वका अन्य १४१ देशको तुलनामा अमेरिकामा युवा र वृद्धहरूबीचको यो सोचको अन्तर सबैभन्दा धेरै पाइएको छ।

ग्यालपका विज्ञ बेनेडिक्ट विगर्सले यो एकदमै नयाँ र अचम्मको कुरा भएको बताए। उनका अनुसार दशकौंपछि पहिलो पटक अमेरिकी युवाहरू अन्य विकसित देशका साथीहरूभन्दा बढी चिन्तित देखिएका हुन्। खासगरी बढ्दो महँगी, घरको उच्च मूल्य र प्रविधिको विकासले आफ्नो काम खोसिने डरले उनीहरूमा यस्तो निराशा आएको हो। कलेज सकेका युवा र पहिलो पटक जागिर खोज्दै गरेकाहरू सबैभन्दा बढी तनावमा देखिएका छन्।