भारतमा १० दिनमै चौथो पटक इन्धनको मूल्यवृद्धि
- ११ जेष्ठ २०८३
- २ मिनेटको पढाई
नयाँ दिल्ली : मध्यपूर्वमा जारी संकटको प्रत्यक्ष असर भारतीय उपभोक्ताहरूमा देखिन थालेको छ। भारतीय आयल मार्केटिङ कम्पनीहरूले पछिल्लो १० दिनभित्रै चौथो पटक पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेका छन्। यस भारी वृद्धिसँगै राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर भारु १०० रुपैयाँभन्दा माथि पुगेको छ। सोमबार दिल्लीमा पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ ६१ पैसाले वृद्धि भएको छ। नयाँ मूल्य कायम भएसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ १२ पैसा पुगेको छ।
यस्तै, डिजेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ ७१ पैसाले बढेर प्रतिलिटर ९५ रुपैयाँ २० पैसा कायम भएको छ। दिल्लीबाहेक भारतका अन्य महानगरहरूमा पनि इन्धनको मूल्य आकाशिएको छ।
कोलकातामा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ८७ पैसाले बढेर ११३ रुपैयाँ ५१ पैसा पुगेको छ। त्यस्तै मुम्बईमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ २१ पैसा कायम भएको छ भने चेन्नईमा २ रुपैयाँ ४६ पैसाको वृद्धिसँगै नयाँ मूल्य प्रतिलिटर १०७ रुपैयाँ ७७ पैसा पुगेको छ।
चुनाव सकिएलगत्तै घाटा पूर्तिको प्रयास
पश्चिम बङ्गाल, असम, केरला, तमिलनाडु र केन्द्रशासित प्रदेश पुडुचेरीमा हालै सम्पन्न विधानसभा चुनावपछि आयल मार्केटिङ कम्पनीहरूले आफ्नो घाटा पूर्ति गर्न तीव्र गतिमा मूल्य बढाउन थालेका हुन्।
चुनाव सकिएपछि सबैभन्दा पहिले गत १५ मेमा पेट्रोल र डिजेलको मूल्य एकमुष्ट ३ रुपैयाँले बढाइएको थियो। त्यसपछि १९ मेमा दोस्रो पटक ९० पैसा, २३ मे (शनिबार) मा तेस्रो पटक पेट्रोलमा ८७ पैसा र डिजेलमा ९१ पैसा बढाइएको थियो भने आज २५ मेमा चौथो पटक पुन: २ रुपैयाँ ६१ पैसा वृद्धि गरिएको हो।
दुई हप्तामा साढे ७ रुपैयाँसम्मको वृद्धि
पछिल्लो दुई हप्तामा चार पटक भएको मूल्यवृद्धिका कारण उपभोक्ताहरू नराम्ररी प्रभावित भएका छन्। यस अवधिमा आयल मार्केटिङ कम्पनीहरूले कुल मूल्यमा पेट्रोल चार पटकमा कुल ७ रुपैयाँ ४१ पैसा प्रतिलिटर वृद्धि गरिएको छ । त्यस्तै डिजेलमा चार पटकगरी कुल ७ रुपैयाँ ५१ पैसा प्रतिलिटर कायम भएको छ ।