२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

चुनावको दबाबमा इरानसँग हतारमा सम्झौता गर्दिनँ: ट्रम्प

चुनावको दबाबमा इरानसँग हतारमा सम्झौता गर्दिनँ: ट्रम्प

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावको दबाबमा आएर इरानसँगको सम्झौतामा हतार नगर्ने स्पष्ट पारेका छन्। ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा बोल्दै उनले वार्ताबाट अमेरिकाले चाहेजस्तो परिणाम नआए पुनः सैन्य कारबाही गर्न वासिङ्टन तयार रहेको चेतावनी दिए।

चुनावको राजनीतिक दबाबका कारण आफ्नो वार्ता गर्ने शक्ति कमजोर हुने इरानले अपेक्षा राखेको ट्रम्पले बताए। उनले वार्ताको प्रगतिप्रति असन्तुष्टि जनाउँदै अमेरिकी माग पूरा नभए सैन्य विकल्पमा जान पछि नहट्ने स्पष्ट पारे। इरानको नौसेना र वायुसेना निकै कमजोर भइसकेको दाबी गर्दै उनले इरान अहिले निकै कठिन परिस्थितिमा रहेर वार्ता गरिरहेको उल्लेख गरे।

यसैबीच, ह्वाइट हाउसले इरानी सञ्चारमाध्यममा आएका सम्झौताको मस्यौदासम्बन्धी खबरलाई पूर्णतया कपोलकल्पित भन्दै खारेज गरेको छ। इरानी सरकारी टेलिभिजनले इरान नजिकका क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुने र बन्दरगाहको नाकाबन्दी हटाउने विषय मस्यौदामा रहेको दाबी गरेको थियो। तर, अमेरिकी प्रशासनले उक्त दाबीमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ।