विश्व ‘पाँचौँ तेल मूल्य झट्का’को अवस्थामा : बैंक अफ जापानका गभर्नर
- १४ जेष्ठ २०८३
- १ मिनेटको पढाई
टोकियो- बैंक अफ जापान (बीओजे) का गभर्नर काजुओ उएदाले विश्व अर्थतन्त्रले सन् १९७० को दशकयताकै ठूलो ऊर्जा मूल्य वृद्धिको सामना गरिरहेको र हाल विश्व ‘पाँचौँ तेल मूल्य झट्का’ को अवस्थामा रहेको बताएका छन्।
टोकियोमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले तेलको मूल्य वृद्धिप्रति जापानको उपभोक्ता मूल्यले फरक–फरक प्रतिक्रिया जनाएको उल्लेख गरे। केन्द्रीय बैंकहरूले तेलको मूल्यलाई मात्र छुट्टै हेर्न नहुने तर्क गर्दै उनले ज्याला, बजारको अपेक्षा, माग र विनिमय दरका आधारमा एउटै स्तरको मूल्य वृद्धिले पनि अर्थतन्त्रमा फरक प्रभाव पार्न सक्ने स्पष्ट पारे। जापानको विगतको अनुभव सुनाउँदै उनले तेलको मूल्यमा आउने उतारचढाव मूल्य वृद्धि मात्र नभई समग्र मुद्रास्फीति प्रणालीकै परीक्षण भएको बताए।
मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य लगातार उच्च छ। यसले तेलजन्य कच्चा पदार्थको आपूर्तिमा कमी आएको छ। यसको प्रत्यक्ष प्रभाव जापानको अर्थतन्त्रमा परेको छ र खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीहरू मूल्य बढाउन बाध्य भएका छन्।
यसैबीच, बैंक अफ जापानले आगामी जुन १५ र १६ मा मौद्रिक नीतिको समीक्षा बैठक गर्दैछ। उक्त बैठकले हाल करिब ०.७५ प्रतिशत रहेको ब्याजदर बढाउने वा नबढाउने भन्ने विषयमा निर्णय गर्नेछ। गत अप्रिलको बैठकमा केन्द्रीय बैंकले ब्याजदर यथावत राखे पनि नीति निर्धारण समितिका नौमध्ये तीन सदस्यले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने धारणा राखेका छन्।