२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

बालेन देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : पूर्वप्रधानमन्त्री खनाल

बालेन देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको अभिव्यक्ति दिएको भन्दै उनले देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका हुन्।

बालेनको अभिव्यक्ति अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति भएको बताउँदै उनले कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको भन्दै प्रश्न गरे।

‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे। यो अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो।’ खनालले भने,‘हामी नेपाली जनता युगौँ देखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौं र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ। त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो। वहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो ?’

पूर्वप्रधानमन्त्री खनालले राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताए। प्रधानमन्त्रीका राष्ट्रघाती अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन उनले सभामुख समक्ष आग्रह गरे। ‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन। साथै, यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र साहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न म सम्पूर्ण देशभक्त जनता र शक्तिहरुलाई जोडदार आग्रह गर्दछु। प्रधानमन्त्रीका यी राष्ट्रघाती अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन पनि म सम्माननीय सभामुख समक्ष आग्रह गर्दछु’उनले भने।