६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

इबोला प्रकोप: यात्रा प्रतिबन्धमा पुनर्विचार गर्न डब्लुएचओको आग्रह

इबोला प्रकोप: यात्रा प्रतिबन्धमा पुनर्विचार गर्न डब्लुएचओको आग्रह

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला प्रकोपलाई लिएर कंगो र युगान्डामाथि लगाइएको यात्रा प्रतिबन्ध र सीमा बन्द गर्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका छन्। कंगोको इतुरी प्रान्तको बुनियामा पत्रकार सम्मेलन गर्दै उनले यस्ता प्रतिबन्धले महामारी नियन्त्रण गर्न झन् गाह्रो हुने बताए। यस्ता कदमले पारदर्शिता घटाउने र मानिसको ज्यान बचाउन चाहिने आपसी विश्वासमा ठेस पुग्ने उनको भनाइ छ।

अहिलेसम्म इबोलाको पक्का खोप वा औषधि नभए पनि समयमै राम्रो उपचार पाए बिरामी निको हुन सक्ने टेड्रोसले बताए। उनी प्रभावित क्षेत्रको अवस्था बुझ्न आफैँ त्यहाँ पुगेका हुन्। अहिले कंगोमा इबोलाका १ हजारभन्दा बढी शङ्कास्पद बिरामी भेटिएका छन्। यस्तै, छिमेकी देश युगान्डाको राजधानी कम्पालामा दुई नयाँ बिरामी भेटिएसँगै त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ।

यसैबीच, कंगोका स्वास्थ्य मन्त्री रोजर काम्बाले आगामी चारदेखि छ महिनाभित्र महामारी नियन्त्रण गर्ने लक्ष्य रहेको बताएका छन्। अहिले इतुरी, उत्तर किभु र दक्षिण किभु प्रान्तमै भाइरसलाई सीमित राख्ने सरकारको मुख्य योजना छ। मन्त्री काम्बाले देशको परीक्षण क्षमता बढाइएको जानकारी दिए। उनका अनुसार अहिलेसम्म ९ सय नमुना परीक्षण गर्दा २६० जनामा सङ्क्रमण देखिएको छ। अब कंगोले दैनिक २ सयदेखि ३ सय नमुना परीक्षण गर्न सक्छ।