डब्लूएचओद्वारा इबोलालाई स्वास्थ्य आपतकाल घोषणा, नेपालमा पूर्वतयारी तीव्र
- १९ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- अफ्रिकी देश कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसलाई विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको छ। यससँगै नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर निगरानी र पूर्वतयारी तीव्र बनाएको छ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले इबोलाको जोखिम कम गर्न आवश्यक तयारी अघि बढाएको बताए। उनले परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता र उपचार व्यवस्थापनको समीक्षा गर्दै अस्पताल तथा प्रयोगशालाहरूसँग समन्वय भइरहेको जानकारी दिए। उनका अनुसार संक्रमित भित्रिन सक्ने नाकाहरूमा स्वास्थ्यकर्मी खटाएर यात्रुहरूको निगरानी र शंकास्पद बिरामीको परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको आपतकालीन स्वास्थ्य टोलीलाई पनि सक्रिय बनाइएको छ। जोखिम भएका क्षेत्रबाट फर्किने सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राख्ने गरिएकोले नेपालमा अहिल्यै आत्तिहाल्नुपर्ने अवस्था नरहेको अधिकारीले प्रष्ट पारे।
कसरी सर्छ र लक्षण के हुन्?
इबोला भाइरस सुरुमा जङ्गली जनावर (चमेरा, बाँदर, चिम्पान्जी आदि) को मासु खाँदा वा सम्पर्कमा आउँदा मानिसमा सर्छ। त्यसपछि संक्रमित व्यक्तिको रगत वा अन्य तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट एक मानिसबाट अर्को मानिसमा फैलिन्छ।
यसका मुख्य लक्षणहरूमा उच्च ज्वरो आउने, टाउको र जीउ दुख्ने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने पर्छन्। रोग बढ्दै जाँदा बान्ता हुने, पखाला लाग्ने र आँखा, नाक, कान जस्ता शरीरका विभिन्न अंगबाट रगत बग्ने जस्ता गम्भीर समस्या देखिन्छन्। हालसम्म यसको कुनै आधिकारिक औषधि वा खोप नभएकाले बिरामीलाई प्रशस्त झोलिलो खानेकुरा खुवाएर स्याहार गर्नु नै यसको मुख्य उपचार हो।