२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

नयाँ दिल्लीको होटलमा भीषण आगलागी: १७ विदेशीसहित २१ जनाको मृत्यु

नयाँ दिल्लीको होटलमा भीषण आगलागी: १७ विदेशीसहित २१ जनाको मृत्यु

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको एउटा होटलमा भीषण आगलागी भएको छ। ‘फ्लरिस स्टे’ नामको ६ तले होटलमा बुधबार बिहान भएको उक्त दुर्घटनामा परि १७ जना विदेशी नागरिकसहित २१ जनाको ज्यान गएको छ। ज्यान गुमाउने विदेशीहरूमा बंगलादेश र अफ्रिकी देशका नागरिकहरू छन्।

प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार होटलको रेस्टुरेन्टबाट बिहान ८ बजेर ५० मिनेट जाँदा आगो सल्किन सुरु भएको थियो। आगो तीव्र गतिमा माथिल्लो तलाहरू र बेसमेन्टसम्म फैलिएपछि ठूलो मानवीय क्षति भएको हो। भवनमा अचानक आगो र धुवाँ फैलिएपछि ज्यान बचाउनका लागि मानिसहरू तेस्रो र चौथो तलाबाट तल हामफालेका थिए। उनीहरूलाई बचाउन स्थानीय बासिन्दाले भुइँमा गद्दाहरू बिछ्याएर सहयोग गरेका थिए।

उद्धार टोलीले होटलको बेसमेन्टबाट ६ जना र अन्य भागबाट गरी जम्मा ४० जनालाई सुरक्षित रूपमा बाहिर निकालेको छ। आगलागीको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। दिल्लीमा पछिल्लो ६ महिनाभित्र भएका विभिन्न आगलागीका घटनामा परि ६६ जनाको मृत्यु भइसकेको छ। प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।