इरानको आक्रमणबाट कुवेत विमानस्थलमा क्षति, एक जनाको मृत्यु
- २० जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। कुवेतको विदेश मन्त्रालयले यस आक्रमणको कडा शब्दमा विरोध गरेको छ। मन्त्रालयले दिएको जानकारीअनुसार आक्रमणमा परेर एक जनाको ज्यान गएको छ र अरू केही घाइते भएका छन्। विमानस्थलको यात्रु भवन र अन्य कूटनीतिक नियोगहरूमा पनि भौतिक क्षति पुगेको छ।
कुवेतको सेनाले स्थितिको निगरानी गरिरहेको र देशको सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको बताएको छ। अमेरिका र इरानबीच युद्ध सुरु भएको तीन महिनापछि इरानले यस्तो आक्रमण गरेको हो।
यसैबीच, अमेरिकी सेनाले इरानका धेरै मिसाइल र ड्रोनहरूलाई आकासमै नष्ट गरिदिएको जनाएको छ। अमेरिकाले आत्मरक्षाको लागि भन्दै इरानको केश्म टापुमा पनि आक्रमण गरेको छ। इरानले कुवेत र बहराइनतर्फ प्रहार गरेका मिसाइलहरू भने बीचमै खसेको वा नष्ट गरिएको अमेरिकी सेनाको भनाइ छ। यस घटनामा कुनै पनि अमेरिकी सैनिकलाई भने केही भएको छैन।