नेपाल–भारत सीमा व्यवस्थापन संयन्त्रको बैठक अगस्टमा, हराएका सीमा स्तम्भ पुनःस्थापनाको काम तीव्रः परराष्ट्रमन्त्री
- २८ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट)को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्।
नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको मन्त्री खनालले बताए। यस्ता संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।
उनले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनःस्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी पनि दिए। हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टाछुट्टै टोली परिचालन गरिएको उनले संसदलाई बताए।
मन्त्री खनालले भने, ‘दुई देशबीचको सम्बन्ध बलियो बनाउन दर्जनौँ संयन्त्रहरू छन्, जसमध्ये केही पछिल्लो समय निष्क्रिय जस्तै थिए। अहिले ती द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु भएका छन्। अगस्ट २०२६ मा ज्वाइन्ट वर्किङ गु्रप अन बोर्डर म्यानेमेन्टको बैठक बस्दैछ। हाल चार वटा छुट्टाछुट्टै टोली गठन भई नेपाल–भारत सीमाका विभिन्न क्षेत्रमा हराएका सीमा स्तम्भ मर्मत, पुनःस्थापना र पुनर्निर्माणको काम भइरहेको छ।’
उनले क्रस बोर्डर अकुपेसनसहितका विभिन्न सीमा समस्याका विषयमा नेपाल र भारत दुवैतर्फका संयन्त्रहरूले गम्भीरतापूर्वक काम गरिरहेको स्पष्ट पारे।