न्युयोर्कमा किरात राई सोसाइटी र ब्लड डोनर्स अफ अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
- ०२ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- विश्व रक्तदाता दिवसको अवसरमा किरात राई सोसाइटी अफ अमेरिकाको आयोजना तथा ब्लड डोनर्स अफ अमेरिका, न्युयोर्क च्याप्टरको सहयोगमा आइतबार क्वीन्स सेन्टर मलमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
मानवीय सेवाको उद्देश्यले आयोजित उक्त कार्यक्रममा समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रममा ५४ जना दाताले सफलतापूर्वक रक्तदान गरेका थिए। रक्तदानपूर्व गरिने स्वास्थ्य परीक्षणका क्रममा ११ जना व्यक्ति अयोग्य ठहरिएपछि उनीहरूलाई रक्तदान नगर्न सल्लाह दिइएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा बलेवा समाज अमेरिकाका अध्यक्ष तथा ब्लड डोनर्स अफ अमेरिका, न्युयोर्कका उपाध्यक्ष शंकर पौडेलले आफ्नो ५४औँ पटक रक्तदान गरे। उनको यो योगदानले कार्यक्रममा उपस्थित सहभागीलाई प्रेरित गरेको थियो।

त्यसैगरी, ब्लड डोनर्स अफ अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष कृष्ण आचार्यले पनि रक्तदान गरे। रक्तदानपछि प्रतिक्रिया दिँदै उनले कार्यक्रमको उल्लेखनीय सफलताप्रति खुसी व्यक्त गरे। उनले समुदायमा रक्तदानप्रति जागरण फैलाउन तथा जीवनरक्षक अभियान सफल बनाउन किरात राई सोसाइटी अफ अमेरिकाले गरेको सहकार्यको प्रशंसा गर्दै आयोजकलाई धन्यवाद दिए।
कार्यक्रम सम्पन्न भएपछि किरात राई सोसाइटी अफ अमेरिकाकी अध्यक्ष भारती राईले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सन्तुष्टि व्यक्त गर्दै सम्पूर्ण रक्तदाता, स्वयंसेवक, स्वास्थ्यकर्मी, सहयोगी संस्था तथा सञ्चारकर्मीलाई हार्दिक धन्यवाद दिइन्।
उनले भनिन्, “यस रक्तदान कार्यक्रमको सफलता हाम्रो समुदायको सेवाभाव र मानवीय भावनाको उत्कृष्ट उदाहरण हो। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्छु।”
आयोजकले नियमित रक्तदानको महत्वबारे प्रकाश पार्दै भविष्यमा पनि यस्ता कार्यक्रममा सक्रिय सहभागिता जनाउन समुदायलाई आग्रह गरेका छन्। कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम सहभागी सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।
– बेगम पण्डित (त्रिवेणी टाईम्स)