न्युयोर्क- बि. के. नेवा – नेपालबाट चोरी भई अमेरिका पुर्याइएका हजारौँ वर्ष पुराना दुईवटा ऐतिहासिक मूर्ति नेवाः गुठी न्युयोर्कको विशेष पहलमा स्वदेश फर्काइने भएको छ। न्युयोर्कस्थित विभिन्न सङ्ग्रहालयमा रहेका यी बहुमूल्य पुरातात्त्विक सम्पदा कानुनी प्रक्रिया पूरा गरी फिर्ता गर्न लागिएको हो।
यस ऐतिहासिक कार्यका लागि नेवाः गुठी न्युयोर्कको एक प्रतिनिधिमण्डल ती मूर्ति लिएर छिट्टै नेपाल जाँदैछ। उक्त प्रतिनिधिमण्डलले नेपाल गएर नेपाल सरकारको सम्बन्धित निकाय, पुरातत्त्व विभागलाई एक विशेष समारोहबिच यी मूर्ति हस्तान्तरण गर्ने छ।
नेपालका प्राचीन मठमन्दिर र सांस्कृतिक धरोहरबाट दशकौँ अघि अवैध रूपमा तस्करी गरी विदेश पुर्याइएका यस्ता मूर्तिको फिर्तीले नेपाली कला, संस्कृति र इतिहासको संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। नेवाः गुठी न्युयोर्कले विदेशी भूमिमा पुगेका नेपालका प्राचीन देवीदेवताका मूर्ति र सम्पदालाई स्वदेश फर्काउने पवित्र अभियान जारी राखेको छ। गुठीको यस कार्यलाई निकै सराहनीय र गौरवपूर्ण कदम मानिएको छ। यस कार्यले आगामी दिनमा अन्य चोरिएका नेपाली कलाकृति पहिचान गरी स्वदेश फर्काउने अभियानलाई थप ऊर्जा र प्रेरणा मिल्ने छ।
यसअघि पनि नेवाः गुठी न्युयोर्कले अमेरिका पुर्याइएका नेपाली मूर्तिहरू नेपाल फर्काउने काम गरेको छ। न्युयोर्क सङ्ग्रहालयमा पुर्याइएका नेपाली मूर्तिहरू फिर्ता गर्ने क्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिएको थियो। तर, दूतावाससँग नेपाल फर्काउने बजेट नभएकाले ती मूर्ति नेवाः गुठी न्युयोर्कलाई दिइएको थियो। ती मूर्ति गुठीकै खर्चमा नेपाल पठाइएको छ। नेवाः गुठी न्युयोर्कले गत वर्ष पनि यसै गरी आफ्नै खर्चमा प्राचीन मूर्ति नेपाल पूर्याइ नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

गत फेब्रुअरी २८ मा न्युयोर्कस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत चन्द्र सुवेदीले ती मूर्ति नेवाः गुठी न्युयोर्कका अध्यक्ष विजयमान सिंहलाई हस्तान्तरण गरेका थिए। ती मूर्तिमध्ये केही कार्गोमार्फत, केही पानीजहाजमार्फत तथा केही गुठीका स्वयंसेवकले मार्च ४ मा नेपाल सरकारलाई हस्तान्तरण गर्ने अध्यक्ष सिंहले जानकारी दिए। हस्तान्तरण गरिएका सामग्रीमा १६ थान प्राचीन मूर्ति र ३ थान पौभा चित्र रहेका छन्।
उक्त कार्यमा गुठीका सदस्यहरू प्रेमगोपाल महर्जन, ससिता महर्जन, सजना महर्जन, सन्तोष महर्जन, सुन्दर महर्जन, राजेन्द्र महर्जन, अशोक श्रेष्ठ, कृष्णमाया महर्जन, रोशन महर्जन, सुवर्ण शाक्य, वीरेन्द्र मानन्धर, जयन्ती महर्जन, लकेश श्रेष्ठ, न्हुच्छे डङ्गोल, विक्रम महर्जन र श्याम महर्जनलगायतले महत्त्वपूर्ण योगदान दिएका थिए। सबै सहयोगीलाई धन्यवाद दिँदै अध्यक्ष सिंहले नेपालको कला, संस्कृति, धर्म तथा परम्पराको संरक्षण एवं प्रचारप्रसार गर्न गुठी सधैँ प्रतिबद्ध रहेको बताए।
गुठीको यस योगदानको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष वीरेन्द्रजङ्ग केसी, दर्शन ठकुरी समाज न्युयोर्कका अध्यक्ष तथा नेपाली भान्साघरका सञ्चालिका विमला हमाल श्रेष्ठ, हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष शोभाकान्त पाण्डे लगायत विभिन्न सङ्घ-संस्थाले उच्च प्रशंसा गरेका छन्।
