२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अस्ट्रेलियाको मुख्य भूमिमा पहिलो पटक बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन आग्रह

अस्ट्रेलियाको मुख्य भूमिमा पहिलो पटक बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन आग्रह

अस्ट्रेलियाको मुख्य भूमिमा पहिलो पटक अति सङ्क्रामक मानिने ‘एचफाइभएनवान’ बर्डफ्लु पुष्टि भएको छ। पश्चिमी अस्ट्रेलियाको एउटा राष्ट्रिय निकुञ्जमा मरेको भेटिएको ‘ब्राउन स्कुआ’ नामको फिरन्ते समुद्री चरामा यो भाइरस देखिएको हो।

कृषि मन्त्री जुली कोलिन्सले शनिबार क्यानबेरामा परीक्षणबाट यो कुरा पुष्टि भएको जानकारी दिइन्। उनका अनुसार गत जुन १४ मा मरेको फेला परेको उक्त चरामा भाइरस भेटिएको हो। सन् २०२० देखि विश्वभर फैलिएर लाखौँ चराचुरुङ्गी र जनावरको ज्यान लिएको यो घातक भाइरस अस्ट्रेलियाको मुख्य भूमिमा देखिएको यो पहिलो घटना हो।

सङ्क्रमण पुष्टि भएसँगै सरकारले सम्भावित महामारीको पूर्वतयारी गर्न ११ करोड ३० लाख अस्ट्रेलियन डलर बजेट छुट्याएको छ। त्यही क्षेत्र नजिकै बिहीबार बिरामी अवस्थामा भेटिएको अर्को एउटा चरालाई अहिले क्वारेन्टाइनमा राखिएको छ।

प्रमुख पशु चिकित्सा अधिकारी बेथ कुकसनले सर्वसाधारणलाई बिरामी वा मरेका चराको नजिक नजान र देखेमा तत्काल पशु रोगसम्बन्धी हटलाइनमा खबर गर्न आग्रह गरिन्। यो भाइरस अरू चरामा फैलिए वा नफैलिएको विषय केही दिनभित्रै स्पष्ट हुने सङ्कटापन्न प्रजातिसम्बन्धी आयुक्त फियोना फ्रेजरले बताइन्। अधिकारीहरूले यसको रोकथाम र निगरानीका लागि अहिले उच्च सतर्कता अपनाएको बताएका छन्।