९ असार २०८३, मङ्लबार
23 June 2026, Tuesday

वार्ता सकारात्मक भएको अमेरिकी उपराष्ट्रपति भान्सको दाबी, युद्ध अन्त्यको प्रयास जारी

वार्ता सकारात्मक भएको अमेरिकी उपराष्ट्रपति भान्सको दाबी, युद्ध अन्त्यको प्रयास जारी

न्युयोर्क- अमेरिका र इरानबिच स्विट्जरल्यान्डमा भएको उच्चस्तरीय वार्ताले युद्ध अन्त्यका लागि राम्रो आधार तयार पारेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्। गत हप्ता दुई देशबिच भएको प्रारम्भिक सम्झौतालाई पूर्णता दिन स्विट्जरल्यान्डको एक रिसोर्टमा दुवै पक्षबिच गहन छलफल भएको हो।

वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले अन्तिम सम्झौताका लागि एउटा बलियो जग बसेको दाबी गरे। यस प्राविधिक तहको वार्तामा पाकिस्तानी र कतारी मध्यस्थकर्ताहरू पनि सहभागी थिए। वार्ताका क्रममा अमेरिकाले इरानको रोक्का भएको रकम फुकुवा गरेर त्यसबाट अमेरिकी भटमास, मकै र गहुँ जस्ता खाद्यान्न किन्न सक्ने प्रस्ताव समेत अघि सारेको छ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान र हिजबुल्लाहलाई कडा धम्की दिएपछि केही समयका लागि वार्ता अवरुद्ध भएको थियो। ट्रम्पको सन्देशलाई लिएर इरानी पक्षले आपत्ति जनाए पनि वार्ता रातभर जारी रहेको भान्सले जानकारी दिए।

इरानले पनि लेबनानमा जारी युद्ध रोक्ने विषयमा वार्तामा ठुलो प्रगति भएको उल्लेख गरेको छ। लेबनान र इजरायल सीमा क्षेत्रमा केही दिनदेखि आक्रमण रोकिएकाले त्यहाँको स्थिति अहिले सामान्य र शान्त छ। मुख्य नेताहरूबिचको उच्चस्तरीय छलफल सकिए पनि प्राविधिक टोलीबिच यस हप्ता पनि वार्ता जारी रहने बताइएको छ।