एसियामा डरलाग्दो जलवायु संकट: हिमनदी पग्लिँदै, समुद्रमा अत्यधिक तापक्रम
- ०८ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- विश्व मौसम संगठन (डब्लुएमओ) ले एसियामा जलवायु परिवर्तनको असर निकै डरलाग्दो रूपमा बढिरहेको बताएको छ। नयाँ प्रतिवेदन अनुसार, एसिया विश्वको औसतभन्दा तीव्र गतिमा तातिरहेको छ। बढ्दो तापक्रमले गर्दा सन् २०२५ मा करोडौं मानिस बाढी, खडेरी र हिमनदी पग्लिने समस्याबाट गम्भीर रूपमा प्रभावित भए।
अहिले समुद्रको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। एसियाका उच्च हिमाली क्षेत्रका २३ वटै हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। यसले भविष्यमा पानीको अभाव निम्त्याउनुका साथै हिमताल फुट्ने खतरा बढाएको छ।
गत वर्ष एसियाका धेरै देशले अत्यधिक गर्मी र विनाशकारी प्राकृतिक प्रकोपको सामना गरे। जापान, चीन र दक्षिण कोरियामा इतिहासकै सबैभन्दा तातो गर्मी महसुस गरियो। अर्कोतिर, पाकिस्तान र भियतनाममा आएको भीषण बाढीले हजारौं मानिसको ज्यान लियो र ठूलो आर्थिक क्षति गर्यो। इरानलगायतका देशमा भने लामो खडेरी र धुलोको आँधीले जनजीवन कष्टकर बनायो।
डब्लुएमओकी महासचिव सेलेस्टे साउलो र राष्ट्रसंघकी अधिकारी आर्मिडा साल्सियाह अलिसजाहबानाले एसिया गम्भीर जलवायु संकटमा रहेको बताए। उनीहरूले यस्ता प्रकोपबाट ज्यान जोगाउन र क्षति कम गर्न समयमै जानकारी दिने पूर्व सूचना प्रणालीलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।