अस्ट्रेलियाको इतिहासमै सबैभन्दा धेरै २.७ टन कोकिन बरामद, दुई युवक पक्राउ
- ०९ असार २०८३
- १ मिनेटको पढाई
सिड्नी- अस्ट्रेलियाली प्रहरीले सिड्नीको उत्तर-पश्चिम क्षेत्रबाट २.७ टन कोकिन बरामद गरेका छन्। यो अस्ट्रेलियाको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो लागुऔषध बरामद भएको अस्ट्रेलियन फेडरल पुलिस (एएफपी) ले सोमबार बताएको छ।
प्रहरीले गत शुक्रबार सिड्नीबाट करिब ५० किलोमिटर टाढा पर्ने लण्डनडेरीस्थित एउटा घरमा छापा मार्दा यो लागुऔषध फेला पारेको हो। घरको पछाडि राखिएका तीनवटा कन्टेनरमुनि बनाइएको विशेष भूमिगत बङ्करमा प्लास्टिकका क्रेटभित्र कोकिन लुकाएर राखिएको थियो। बरामद गरिएको कोकिनको अवैध बजार मूल्य करिब ८१ करोड ६० लाख अस्ट्रेलियन डलर पर्ने अनुमान छ।
यस घटनामा संलग्न भएको आरोपमा २१ र २५ वर्षका दुई युवकलाई पक्राउ गरेर मुद्दा चलाइएको छ। दोषी ठहरिए उनीहरूलाई आजीवन जेल सजाय हुन सक्छ। गत मे महिनामा समुद्र किनारमा ४० किलो कोकिन फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। लागुऔषध ओसार्न प्रयोग भएको पानीजहाजलाई अहिले सोलोमन टापुमा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।