२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अमेरिका र इरानबीचको पहिलो चरणको वार्ता सम्पन्न, ६० दिनभित्र सम्झौता गर्ने सहमति

अमेरिका र इरानबीचको पहिलो चरणको वार्ता सम्पन्न, ६० दिनभित्र सम्झौता गर्ने सहमति

न्युयोर्क- अमेरिका र इरानबीच स्विजरल्याण्डको बुर्गेनस्टोकमा भएको पहिलो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। कतार र पाकिस्तानको मध्यस्थतामा भएको यस वार्तामा उत्साहजनक प्रगति भएको सोमबार जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

वार्तापछि दुवै पक्ष आगामी प्राविधिक छलफलका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन्। मध्यस्थता प्रक्रियाको रेखदेख गर्न एक उच्चस्तरीय समिति गठन गरिनेछ, जसले परमाणु मुद्दा, प्रतिबन्ध र विवाद समाधानका लागि काम गर्नेछ। वार्ताका क्रममा आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने उद्देश्यका साथ एउटा कार्ययोजना (रोडम्याप) मा समेत सहमति जुटेको छ।

यसैगरी, समुद्रमा हुन सक्ने सम्भावित दुर्घटना कम गर्न र हर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न एउटा सञ्चार संयन्त्र स्थापना गरिएको छ। लेबनानमा जारी युद्धविरामको पूर्ण पालनाका लागि एक ‘डि-कन्फ्लिक्शन सेल’ गठन गर्न पनि दुवै पक्ष सहमत भएका छन्। दुई देशबीचको प्राविधिक तहको वार्ता यसै हप्ताभरि जारी रहने बताइएको छ।