१० असार २०८३, बुधबार
24 June 2026, Wednesday

हर्मुज जलडमरूमध्य खुला भयो, तेल र ग्यासको मूल्य घट्यो: उपराष्ट्रपति जेडी भेन्स

हर्मुज जलडमरूमध्य खुला भयो, तेल र ग्यासको मूल्य घट्यो: उपराष्ट्रपति जेडी भेन्स

न्युयोर्क- अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य हाल खुला भएको र त्यहाँबाट कच्चा तेल तथा प्राकृतिक ग्यासको ढुवानी सुचारु भएको बताएका छन्। स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित अमेरिका–इरान वार्ताको पहिलो सत्र सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यो जानकारी दिएका हुन्।

हर्मुज जलडमरूमध्यबाट इन्धनको ढुवानी सुचारु भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य घटेको उनले उल्लेख गरे। विश्वको कुल समुद्री तेल ढुवानीको करिब २० प्रतिशत हिस्सा ओगट्ने यस क्षेत्रमा गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण गरेपछि तनाव बढेको थियो। त्यसपछि अमेरिकाले समुद्री नाकाबन्दी लगाएको थियो भने इरानले पनि उक्त क्षेत्रमा आफ्नो नियन्त्रण कडा पारेको थियो।

उपराष्ट्रपति भेन्सका अनुसार इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई आफ्नो देशमा पुनः आउन दिने सहमति समेत जनाएको छ। कतार र पाकिस्तानको मध्यस्थतामा आइतबारदेखि सुरु भएको यो वार्तालाई गत बिहीबार भएको इस्लामाबाद समझदारीपछिको पहिलो प्रत्यक्ष संवादका रूपमा हेरिएको छ। अमेरिकी टोलीले इरानी, कतारी र पाकिस्तानी प्रतिनिधिहरूसँग मिलेर सकारात्मक प्रगति गरेको र आगामी दिनमा प्राविधिक स्तरमा वार्ता जारी रहने उनले बताए।

इस्लामाबाद समझदारीअनुसार अमेरिका र इरानले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेका छन्। दुवै पक्ष आगामी ६० दिनभित्र अन्तिम शान्ति सम्झौतामा पुग्न प्रतिबद्ध देखिएका छन्। सफल अन्तिम सम्झौताका लागि मजबुत आधार तयार भएको विश्वास समेत उपराष्ट्रपतिको छ।