१० असार २०८३, बुधबार
24 June 2026, Wednesday

काठमाडौँ बन्यो दक्षिण एसियाकै हवाई सुरक्षा छलफलको केन्द्र

काठमाडौँ बन्यो दक्षिण एसियाकै हवाई सुरक्षा छलफलको केन्द्र

काठमाडौं- युरोपेली सङ्घ (इयु) को पहलमा काठमाडौँमा हवाई सुरक्षासम्बन्धी दुईवटा क्षेत्रीय कार्यक्रम सञ्चालन भएसँगै नेपाल दक्षिण एसियाकै हवाई संवादको मुख्य केन्द्र बनेको छ। यी कार्यक्रमले नेपाल र समग्र दक्षिण एसियाको हवाई सुरक्षालाई थप बलियो बनाउने उद्देश्य राखेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र एटिआरको सहकार्यमा आजदेखि पहिलो कार्यक्रम सुरु भएको छ। असार ११ गतेसम्म चल्ने यो कार्यक्रममा चालक दलको तालिम, उडान सञ्चालनका नियम, निर्णय प्रक्रिया र थकान व्यवस्थापन जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। दक्षिण एसियाका हवाई नियमनकर्ता, वायुसेवा कम्पनी र प्राविधिक विज्ञहरूले यसमा आफ्ना अनुभव साटासाट गर्नेछन्।

नेपालस्थित इयु प्रतिनिधिमण्डलका कार्यवाहक प्रमुख थोमस मिलारले नेपाल सरकारले हवाई सुरक्षालाई प्राथमिकतामा राखेको बताए। हालैको बजेटमार्फत इयुका चासोहरू सम्बोधन गर्ने प्रतिबद्धता आएकोमा उनले खुसी व्यक्त गरे। नेपालले तयार पारेको हवाई सुधार कार्ययोजना युरोपेली आयोगले आगामी महिना अध्ययन गर्ने पनि उनले जानकारी दिए। यात्रुको सुरक्षा सुनिश्चित गर्न इयु नेपालसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको उनले प्रष्ट पारे।

त्यसैगरी, असार १५ देखि १८ गतेसम्म काठमाडौँमै ‘कन्टिन्युङ एयरवर्दिनेस’ सम्बन्धी अर्को कार्यशाला हुँदैछ। यसमा युरोपेली हवाई सुरक्षा निकायका नयाँ नियम र आधुनिक अनुगमनबारे सिकाइनेछ।

यी दुवै कार्यक्रमले प्राविधिक ज्ञान आदानप्रदान मात्र नभई यस क्षेत्रको सुरक्षित उडान, पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने इयुले जनाएको छ।