२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अमेरिकाप्रति अस्ट्रेलियाली नागरिकको विश्वास ऐतिहासिक रूपमै कमजोर

अमेरिकाप्रति अस्ट्रेलियाली नागरिकको विश्वास ऐतिहासिक रूपमै कमजोर

न्युयोर्क- सिड्नीस्थित स्वतन्त्र थिङ्क ट्याङ्क ‘लोवी इन्स्टिच्युट’ ले गरेको नयाँ सर्वेक्षणले विश्वमञ्चमा अमेरिकाप्रति अस्ट्रेलियाली नागरिकको विश्वास ऐतिहासिक रूपमै घटेको देखाएको छ। यो संस्थाले विगत दुई दशकदेखि गर्दै आएको सर्वेक्षणमा अमेरिकाप्रतिको विश्वास यति धेरै कहिल्यै घटेको थिएन।

सर्वेक्षणमा सहभागीमध्ये ६८ प्रतिशत अस्ट्रेलियालीले अमेरिकाप्रति अविश्वास व्यक्त गरेका छन्। यसमध्ये ३८ प्रतिशतले अमेरिकाको भूमिकाप्रति रत्तीभर विश्वास नभएको बताए भने ३० प्रतिशतले धेरै विश्वास नभएको प्रतिक्रिया दिए। सन् २०२२ मा अमेरिकाप्रति अविश्वास गर्नेको संख्या जम्मा ३५ प्रतिशत मात्र थियो।

यसका साथै, अस्ट्रेलियाको सुरक्षाका लागि अमेरिकासँगको सैन्य वा रणनीतिक गठबन्धन महत्त्वपूर्ण छ भन्नेहरूको संख्या पनि घटेको छ। सन् २०२२ मा ६० प्रतिशत नागरिकले यो गठबन्धनलाई अत्यन्त महत्त्वपूर्ण मानेका थिए। तर, अहिले यो संख्या घटेर ४२ प्रतिशतमा खुम्चिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।