१२ असार २०८३, शुक्रबार
26 June 2026, Friday

भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्यु भएको आशंका

भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्यु भएको आशंका

भेनेजुएला- भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार ७.५ म्याग्निच्युडको मुख्य भूकम्प जानुअघि ७.२ म्याग्निच्युडको पूर्वकम्प गएको थियो। छोटो समयको अन्तरमा एउटै क्षेत्रमा दुई ठूला भूकम्प गएकाले विशेषज्ञहरूले यसलाई ‘सेस्मिक डब्लेट’ भनेका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढीको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत रहेको प्रारम्भिक अनुमान गरेको छ। भूकम्पका कारण सयौँ भवनहरू भत्किएका छन् भने प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। सरकारले अहिलेसम्म मृतकको आधिकारिक संख्या भने सार्वजनिक गरेको छैन।

भूकम्पपछि राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर राष्ट्रिय आपतकालीन अवस्थाको घोषणा गरे। उनले स्वास्थ्यकर्मीहरूलाई तुरुन्तै अस्पताल पुगेर घाइतेको उपचार गर्न आग्रह गरेका छन्। भूकम्पका कारण काराकास नजिकैको मैकेतिया अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि विमानस्थल बन्द गरिएको छ। राष्ट्रपति रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे र अमेरिका लगायतका देशहरूले सहयोगको आश्वासन दिएको बताए।