१२ असार २०८३, शुक्रबार
26 June 2026, Friday

युरोपमा इतिहासकै भीषण गर्मी, फ्रान्समा मात्रै ४० भन्दा बढीको मृत्यु

युरोपमा इतिहासकै भीषण गर्मी, फ्रान्समा मात्रै ४० भन्दा बढीको मृत्यु

न्युयोर्क- युरोप यतिबेला इतिहासकै भीषण गर्मी र लुको चपेटामा परेको छ। फ्रान्स, इटाली, बेलायत र स्पेनलगायतका देशहरू अत्यधिक तापक्रमका कारण नराम्ररी प्रभावित भएका छन्। फ्रान्समा मात्रै पछिल्लो बिहीबारयता गर्मीका कारण र राहत पाउनका लागि नदी तथा तालहरूमा पौडी खेल्ने क्रममा डुबेर ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

बढ्दो तापक्रमलाई लिएर फ्रान्सका श्रममन्त्री जान पियर फराडोले चिन्ता व्यक्त गर्दै अब फ्रान्स पनि ‘तातो देश’ बनेको बताएका छन्। फ्रान्सको मौसम विभागले देशका ५८ क्षेत्रमा ‘रेड हिट अलर्ट’ र ३१ क्षेत्रमा ‘अरेन्ज अलर्ट’ घोषणा गरेको छ।

त्यहाँको लान्देस क्षेत्रमा तापक्रम ४४.३ डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीकै कारण ६८ हजार घरमा बिजुली आपूर्ति बन्द भएको छ भने जंगलहरूमा डढेलो लागिरहेको छ। छिमेकी देश इटालीमा पनि राजधानी रोमसहित १६ प्रान्तका मुख्य सहरहरूमा ‘रेड अलर्ट’ जारी गरिएको छ।