आफ्नै पार्टीका सिनेटरमाथि जंगिए ट्रम्प, भने– ‘लुजर’
- ११ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै पार्टीका रिपब्लिकन सिनेटरहरूसँगको बैठकमा निकै आक्रोशित रूपमा प्रस्तुत भए। इरानविरुद्धको सैन्य कारबाही रोक्नेसम्बन्धी प्रस्ताव सिनेटबाट पारित भएपछि ट्रम्प सिनेट सदस्यहरूमाथि खनिएका हुन्। बैठकमा सहभागी सिनेटर जोन केनेडीले ट्रम्प अत्यधिक रिसाएको बताए।
पार्टी निर्णयविपरीत ४ जना रिपब्लिकन सिनेटरले विपक्षी डेमोक्र्याटको प्रस्तावको पक्षमा मतदान गरेपछि ट्रम्प आक्रोशित बनेका थिए। उक्त प्रस्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेपछि राष्ट्रपतिले सैन्य कारबाही गर्नुअघि संसद्को अनुमति लिनुपर्ने व्यवस्था भएको छ। यसलाई ट्रम्पका लागि ठूलो झट्काको रूपमा हेरिएको छ।
बैठकका क्रममा हालै प्राथमिक निर्वाचन हारेका लुजियानाका रिपब्लिकन सिनेटर बिल क्यासिडीले ट्रम्पको युद्ध व्यवस्थापन शैलीको कडा आलोचना गरे। उनले अमेरिकी जनता र संसद्लाई युद्धबारे पर्याप्त जानकारी नदिएको भन्दै प्रश्न उठाएपछि ट्रम्पले उनलाई लक्षित गर्दै ‘लुजर’ भनेर चिच्याएका थिए। त्यसपछि दुई नेताबीच निकै बेर तिखो भनाभन र वादविवाद भयो। क्यासिडीले आफू कसैको धम्की सहेर नबस्ने र अमेरिकी जनताको पक्षमा बोलिरहने जवाफ दिए।
नीतिगत विषयलाई लिएर ट्रम्प र सिनेटका रिपब्लिकनहरूबीच केही समययता तनाव बढ्दै गएको छ। यसअघि ट्रम्पले एउटा प्रमुख आवाससम्बन्धी विधेयकको हस्ताक्षर समारोहसमेत अचानक रद्द गरिदिएका थिए, जसका कारण मध्यावधि निर्वाचनको तयारीमा रहेका रिपब्लिकन नेताहरू थप समस्यामा परेका छन्।