लिबियाद्वारा सुडानसहित चार देशका नागरिकलाई प्रवेशमा रोक
- ११ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- लिबियाको पूर्वी क्षेत्रको सरकारले चार अफ्रिकी देशका नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ। युरोप जान खोज्ने आप्रवासीहरूको भिड रोक्न यो कदम चालिएको हो।
मंगलबार राति घोषणा गरिएको यो नियमअनुसार सुडान, इरिट्रिया, इथियोपिया र सोमालियाका नागरिकले अब लिबिया प्रवेश गर्न पाउने छैनन्। उनीहरूलाई हवाई, जल र स्थल कुनै पनि बाटोबाट आउन पूर्ण रूपमा निषेध गरिएको छ। तर, कूटनीतिज्ञ, स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई भने यो नियम लागू हुने छैन।
अफ्रिकाबाट युरोप जान चाहने आप्रवासीहरूका लागि लिबिया मुख्य बाटो मानिन्छ। तस्करहरूले उनीहरूलाई साना र असुरक्षित डुङ्गामा कोचेर युरोप पठाउने गर्छन्। यसरी जोखिमपूर्ण यात्रा गर्दा समुद्रमा हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार हाल लिबियामा ९ लाखभन्दा बढी आप्रवासी र शरणार्थी छन्, जसमा सुडानी नागरिकहरूको संख्या सबैभन्दा धेरै छ। युरोप जान खोज्ने धेरैलाई बाटोमै समातेर लिबिया नै फर्काइन्छ र अमानवीय अवस्थामा सरकारी हिरासतमा राखिन्छ। सन् २०११ मा नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियामा पूर्व र पश्चिम गरी दुई छुट्टाछुट्टै सरकारले शासन गर्दै आएका छन्।