नेदरल्यान्ड्समा अत्यधिक गर्मीः उच्च जोखिमको चेतावनी जारी
- १२ असार २०८३
- १ मिनेटको पढाई
नेदरल्यान्ड्स- नेदरल्यान्ड्समा अत्यधिक गर्मी बढेको छ। त्यहाँको मौसम विज्ञान संस्थानले देशका मध्य र दक्षिणी क्षेत्रमा ‘कोड ओरेन्ज’ अर्थात् उच्च जोखिमको चेतावनी जारी गरेको छ।
बढ्दो तापक्रमले जनस्वास्थ्य र दैनिक काममा गम्भीर असर पर्ने भन्दै मौसम विभागले जुन २६ सम्मका लागि यो चेतावनी दिएको हो। गर्मीको जोखिमलाई हेरेर त्यहाँको स्वास्थ्य तथा वातावरण संस्थानले ‘राष्ट्रिय ताप योजना’ पनि लागू गरेको छ।
मौसम पूर्वानुमान अनुसार तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै माथि पुग्ने अनुमान छ। यसबाट विशेष गरी वृद्धवृद्धा, बालबालिका र बिरामीहरू बढी जोखिममा पर्ने देखिएको छ। लगातार तीन दिन ३४ डिग्री, दुई दिन ३६ डिग्री वा कुनै एक दिन ३८ डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना भएमा मात्र यस्तो चेतावनी दिइन्छ। वर्षको यति छिट्टै यस्तो कडा चेतावनी दिइएको नेदरल्यान्ड्सको इतिहासमै यो पहिलो पटक हो।
अधिकारीहरूले सबैलाई प्रशस्त झोल पदार्थ पिउन, दिउँसो कडा काम नगर्न र शीतल ठाउँमा बस्न आग्रह गरेका छन्। गर्मी छल्न राजधानी एम्स्टर्डममा पहिलो पटक सार्वजनिक शीतलता केन्द्रहरू समेत सञ्चालनमा ल्याइएको छ। यसैगरी दक्षिणी भागमा पनि सडक सुरक्षाका विशेष उपाय अपनाउन थालिएको छ।