फ्रान्समा अत्यधिक गर्मीः तापक्रमको रेकर्ड तोडियो, ‘रेड अलर्ट’ जारी
- १२ असार २०८३
- १ मिनेटको पढाई
फ्रान्स- फ्रान्सको मौसम विज्ञान निकाय ‘मेटियो–फ्रान्स’ले अत्यधिक गर्मी बढेपछि देशका ७२ वटा विभागमा बिहीबारदेखि लागू हुने गरी ‘रेड अलर्ट’ (उच्च सतर्कता) जारी गरेको छ। फ्रान्समा विगत नौ दिनदेखि लगातार तातो हावाको लहर चलिरहेको छ।
यो सतर्कताबाट करिब ५ करोड १० लाख मानिस प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ। समग्रमा देशभरका ६ करोड ३५ लाख मानिस गर्मीको चपेटामा परेका छन्। यो गर्मीले फ्रान्समा तापक्रमको पुरानो रेकर्ड पनि तोडेको छ। ‘मेटियो-फ्रान्स’ले मंगलबार र बुधबारलाई इतिहासकै सबैभन्दा तातो दिन भएको बताएको छ।
यसपटक त्यहाँको औसत तापक्रम सूचक ३० डिग्री सेल्सियस पुगेको छ। यसअघि सन् २०१९ र २००३ मा तापक्रम २९.४ डिग्री सेल्सियस पुगेको थियो। तातो हावा र कडा घाम तत्काल नघट्ने देखिएपछि जनजीवन प्रभावित बनेको छ। स्थानीय बासिन्दाले अत्यधिक गर्मीका कारण दैनिक काम गर्न निकै गाह्रो भएको बताएका छन्।