भेनेजुएला भूकम्प: उद्धारमा जुट्यो अन्तर्राष्ट्रिय समुदाय, ६७ लाख प्रभावित हुने अनुमान
- १४ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि संयुक्त राष्ट्रसंघ र अरू अन्तर्राष्ट्रिय संस्थाहरूले उद्धार र राहतको कामलाई तीव्रता दिएका छन्। राष्ट्रसंघका प्रवक्ता जेन्स लार्केले अहिले खोज र उद्धारलाई मुख्य प्राथमिकतामा राखिएको बताए। उनका अनुसार भेनेजुएला सरकारलाई सघाउन विश्वभरबाट २५ वटा टोलीका १ हजारभन्दा बढी उद्धारकर्मी परिचालन गरिएका छन् र यो संख्या अझै बढ्नेछ।
रेडक्रसले आपतकालीन कोषबाट तत्काल करिब २४ लाख ७० हजार अमेरिकी डलर निकालेर काम सुरु गरेको छ। थप सहायताका लागि संस्थाले करिब ६ करोड १८ लाख डलरको अपिल पनि गरेको छ। रेडक्रसले पानामाबाट १७ टन राहत सामग्री पठाइसकेको छ। यसले ३ लाख मानिसलाई बास, स्वास्थ्य सेवा, सफा पानी र मनोवैज्ञानिक परामर्श दिन मद्दत पुग्ने बताइएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी प्रवक्ता जोए ब्रेननले भूकम्पबाट भेनेजुएलाभर करिब ६७ लाख ६० हजार मानिस प्रभावित हुन सक्ने बताइन्। राजधानी काराकासमा मात्रै २० लाख मानिस प्रभावित हुने अनुमान छ। अहिले काराकासमा आवश्यक राहत सामग्री जम्मा गरेर अति प्रभावित क्षेत्रमा वितरणको तयारी भइरहेको छ। विश्व स्वास्थ्य संगठन लगायतका अरू मानवअधिकार संस्थाहरूले पनि आ-आफ्नो तर्फबाट सहयोग र उद्धारका प्रयासहरू गरिरहेका छन्।