२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अमेरिकी कम्पनीमा डिजिटल कर लगाउने देशलाई ट्रम्पको चेतावनी: सबै सामानमा १०० प्रतिशत भन्सार

अमेरिकी कम्पनीमा डिजिटल कर लगाउने देशलाई ट्रम्पको चेतावनी: सबै सामानमा १०० प्रतिशत भन्सार

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूमा डिजिटल सेवा कर लगाउने देशबाट आउने सबै सामानमा १०० प्रतिशत भन्सार महसुल लगाउने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत अमेरिकी प्रविधि कम्पनीलाई लक्षित गर्ने देशविरुद्ध यस्तो कडा कदम चाल्ने घोषणा गरेका हुन्।

ट्रम्पका अनुसार यो नयाँ भन्सारले ती देशहरूसँग भएका सबै व्यापार सम्झौतालाई विस्थापित गर्नेछ। “यदि ती देशहरूले डिजिटल कर लगाए भने यो भन्सार तुरुन्तै लागू गरिनेछ,” उनले लेखेका छन्।

विशेषगरी ठूला अमेरिकी प्रविधि कम्पनीलाई लक्षित गरेर केही युरोपेली देशले यस्तो कर लगाउन लागेकोमा ट्रम्पले आपत्ति जनाएका हुन्। अहिले विश्वका एक दर्जनभन्दा बढी देशले यस्तो कर लगाइसकेका छन्। ट्रम्पले यस्ता करले अमेरिकी प्रविधिलाई अन्यायपूर्ण रूपमा निशाना बनाएको दाबी गर्दै आएका छन्।

यसअघि गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले ल्याउन खोजेको भन्सार सम्बन्धी एउटा नियम खारेज गरिदिएको थियो। अदालतको त्यो फैसलाको केही घण्टापछि नै ट्रम्पले १५० दिनसम्म लागू हुने गरी १० प्रतिशत विश्वव्यापी भन्सार महसुल लगाउने अर्को आदेशमा हस्ताक्षर गरेका थिए।