१५ असार २०८३, सोमवार
29 June 2026, Monday

इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा शान्ति सम्झौता, हेज्बुल्लाह बाहिरै

इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा शान्ति सम्झौता, हेज्बुल्लाह बाहिरै

न्युयोर्क- इजरायल र लेबनानबीच ‘दिगो शान्ति र सुरक्षा’ कायम गर्न नयाँ सम्झौता भएको छ। पहिलेका युद्धविराम प्रयास असफल भइरहेको बेला अमेरिकाको मध्यस्थतामा यो नयाँ सहमति भएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यसलाई शान्तिको लागि निकै महत्त्वपूर्ण र पहिलो कदम भएको बताए।

वासिङ्टन डीसीमा भएको राजदूत स्तरीय वार्तामा दुवै देशले यसमा हस्ताक्षर गरेका हुन्। सम्झौताको पूरै विवरण बाहिर नआए पनि दुवै देश अमेरिकाको रोहवरमा ‘नमूना क्षेत्र’ बनाउन सहमत भएका छन्। ती क्षेत्रमा लेबनानको सरकारी सेनाको मात्र नियन्त्रण रहनेछ भने अरू कुनै पनि हतियारधारी समूहलाई त्यहाँ बस्न दिइने छैन।

सम्झौतामा इजरायली राजदूत येचिएल लेइटर र लेबनानी राजदूत नादा हमादेहले हस्ताक्षर गरेका छन्। लेबनानी राजदूत हमादेहले यसलाई देशमा शान्ति फर्काउने पहिलो पाइला भएको बताइन्। त्यस्तै, इजरायली राजदूत लेइटरले यो सम्झौतामा इरान र हेज्बुल्लाहको कुनै भूमिका नरहने र यसले शान्तिको बाटो खोल्ने दाबी गरे।

इरानको समर्थन पाएको लेबनानी समूह हेज्बुल्लाह भने यो वार्ता प्रक्रियामा सहभागी छैन। गत अप्रिलको युद्धविराम यता इजरायल र हेज्बुल्लाहले एकअर्कालाई पटक-पटक सम्झौता तोडेको आरोप लगाउँदै आएका छन्।