१५ असार २०८३, सोमवार
29 June 2026, Monday

काबुलमा लागुऔषधको लत छाडेका युवालाई सीपमूलक तालिम, हजारौँले पाए नयाँ जीवन

काबुलमा लागुऔषधको लत छाडेका युवालाई सीपमूलक तालिम, हजारौँले पाए नयाँ जीवन

न्युयोर्क- काबुलको एक व्यावसायिक तालिम केन्द्रमा अहिले मेसिनको आवाज गुन्जिरहेको छ। केही महिनाअघिसम्म लागुऔषधको लतले काँप्ने हातहरू अहिले कपडा सिलाउन, विद्युतीय सामान मर्मत गर्न र जुत्ता बनाउन व्यस्त छन्। सीपमूलक तालिमले उनीहरूलाई जीवन जिउने दोस्रो अवसर दिएको छ।

२२ वर्षीय मोहम्मद जिया ६ वर्षसम्म लागुऔषध र गाँजाको लतमा थिए। पहिले सियोमा धागो हाल्न नसक्ने उनी अहिले धेरै सीप सिकेर स्वस्थ र आशावादी बनेका छन्। केन्द्रका निर्देशक मोहम्मद वासिल विसालका अनुसार अहिले ४ हजारभन्दा बढीले तालिम लिइरहेका छन् भने १२ हजारले सिकिसकेका छन्। कुलतबाट निस्केकालाई आत्मनिर्भर बनाउनु तालिमको मुख्य लक्ष्य हो।

लघमान प्रान्तका २८ वर्षीय खालिद ७ वर्षको कुलत छाडेर कपडा सिलाउन सिकिरहेका छन्। उनी तालिमपछि आफ्नै पसल खोल्ने योजनामा छन् र युवाहरूलाई लागुऔषधबाट टाढा रहन आग्रह गर्छन्। त्यस्तै, जुत्ता बनाउन सिकाउने ३३ वर्षीय प्रशिक्षक मुस्तफा आफैँ १२ वर्ष लागुऔषधको लतमा थिए। अहिले शारीरिक र मानसिक रूपमा परिवर्तन भएको उनले बताए। यो सीपमूलक तालिमले अफगानिस्तानका हजारौँ युवालाई नयाँ बाटो देखाएको छ।