एमाले फुटाउने प्रयास भइरहेको छ, चुनावको धक्काबाट फेरि उठ्छौँ : ओली
- १४ असार २०८३
- १ मिनेटको पढाई
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिन नेपाली कांग्रेस फुटाइएको दाबी गरेका छन्। आइतबार काठमाडौंमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेलाई पनि फुटाउने प्रयास भइरहेको तर आफूहरूले त्यसलाई विफल पार्ने बताए।
ओलीले गत चुनावमा पार्टीले केही धक्का खाए पनि एमाले समाप्त नभएको प्रस्ट पारे। लडे पनि नमरेको भन्दै उनले शान्तिपूर्ण र रचनात्मक बाटोबाट फेरि उठेर विरोधीहरूलाई हराउने दाबी गरे। पार्टीभित्र कसैले हात हाल्न खोजे पराजित गर्ने क्षमता एमालेसँग रहेको र पार्टी अझ सुदृढ हुने उनको भनाइ छ।
भदौ २३ र २४ गते भएको जेन-जी (नयाँ पुस्ता) आन्दोलनलाई उनले वामपन्थी र लोकतान्त्रिक आन्दोलन सिध्याउने प्रतिगामी षड्यन्त्र भएको टिप्पणी गरे। वैधानिक सरकारलाई अवैधानिक ढंगले हटाउनु लोकतन्त्र नभएको उनले बताए। एमालेले देश बर्बाद पार्यो भन्ने आरोप गलत भएको भन्दै उनले आफ्ना काम र विकासका सूचक हेर्न आग्रह गरे।
देशमा प्रतिगमन बढिरहेकाले त्यसलाई रोक्न वामपन्थी एकता जरुरी रहेको तर पार्टीको नीति फेर्नका लागि भने एकता नखोजिएको उनले प्रस्ट पारे। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य र जनताको बहुदलीय जनवादको आधारमा पार्टी निरन्तर अगाडि बढिरहेको उनले बताए।