कम्युनिष्ट आन्दोलन सिध्याउने षड्यन्त्र भइरहेको छ, वामपन्थीहरू छिट्टै मिल्नुपर्छ : प्रचण्ड
- १४ असार २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी र देशभक्त शक्तिहरूबीच मिलेर काम गर्न ढिला गर्न नहुने बताएका छन्। आइतबार काठमाडौंमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
कतिपयले पार्टी एकताको कुरा बुझिएन भनेर अलमलमा परेको भन्दै उनले आफूले आजको भोलि नै पार्टी एकता गरिहालौँ नभनेको प्रस्ट पारे। तर संसद, सडक, चुनाव, मजदुर, विद्यार्थी संगठन र सीमा रक्षाजस्ता विषयमा आजैदेखि सहकार्य गर्नुपर्नेमा उनले जोड दिए। गरिब, मजदुर र किसानविरुद्ध भइरहेका षड्यन्त्र चिर्न वामपन्थीहरू मिल्नुको विकल्प नभएको उनले बताए। मिलेर काम गर्न जति ढिला गर्यो, त्यति नै भयानक दुर्घटना हुने चेतावनी उनले दिए।
गत भदौ २४ गतेयता देशको राजनीति उल्टो बाटोमा हिँडिरहेको दाहालले टिप्पणी गरे। राष्ट्रिय स्वाधीनता संकटमा परेको र सरकारले संविधानका आधारभूत कुरामा प्रहार गरिरहेको उनको आरोप छ। नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी सिध्याउने भनेर दुनियाँभरका विरोधीहरू लागिपरेको दाहालले बताए। त्यसैले विदेशी हस्तक्षेप र निरंकुशताविरुद्ध लड्न वामपन्थीहरू छिटो एक हुनुपर्ने उनको भनाइ छ। दलहरूभित्र राम्ररी समीक्षा गरेर मात्र एकताको प्रक्रियामा अघि बढ्नुपर्ने उनले बताए।