१५ असार २०८३, सोमवार
29 June 2026, Monday

कर घटाएर राजस्व बढाउने नीति छ, ऋण काढेर घिउ खाँदैनौँ : अर्थमन्त्री वाग्ले

कर घटाएर राजस्व बढाउने नीति छ, ऋण काढेर घिउ खाँदैनौँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार प्रतिनिधिसभा बैठकमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ पेस गरेका छन्। संसद्‌मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारको नयाँ कर नीति, सार्वजनिक ऋण र इन्धनको मूल्यबारे स्पष्ट पारे।

शिक्षा र स्वास्थ्यमा लगाइएको समता करले गरिबलाई कुनै असर नगर्ने उनले दाबी गरे। नेपालका ८० प्रतिशत बालबालिका पढ्ने सरकारी विद्यालयमा यो कर नलाग्ने र निजी विद्यालयमा महँगो शुल्क तिर्नेबाट थोरै रकम उठाएर सरकारी शिक्षा सुधार्न लागिएको उनले बताए। मध्यम वर्गलाई राहत दिन वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कर छुट दिइएको पनि उनले जानकारी दिए। धेरै कर लगाउँदा चोरी र छली बढ्ने भएकाले करको दर घटाएर दायरा विस्तार गर्ने र राजस्व संकलन बढाउने नीति सरकारले लिएको उनले प्रस्ट पारे।

सरकारले लिएको सार्वजनिक ऋण उपभोगमा नभई ठूला पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने उनले स्पष्ट पारे। नेपालको हालको ऋण सुरक्षित सीमाभित्रै रहेको र आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। आगामी वर्षदेखि बजेट खर्च नहुने पुरानो परम्परा तोड्ने दाबी गर्दै उनले मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार दिने बताए। यसैगरी, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले अब छिट्टै नेपालमा पनि डिजेल र पेट्रोलको भाउ घट्ने उनले जानकारी दिए।

तस्करी, भन्सार छली र सेयर बजारको भित्री कारोबार जस्ता अपराध रोक्न कानुनमा सुधार गर्नुपरेकाले सम्पत्ति शुद्धीकरण विधेयक ल्याइएको उनले बताए। साथै, पुरानो कर विवादमा फसेका व्यवसायीलाई सावाँ कर र १ प्रतिशत जरिवाना तिरेर विवाद टुंग्याउने नयाँ अवसर दिइएको पनि उनले जानकारी दिए।