सुनुवार राष्ट्रसेवक समाजको स्मारिका विमोचन
- १४ असार २०८३
- १ मिनेटको पढाई
काठमाडौं – सुनुवार राष्ट्रसेवक समाजको सुनुवार राष्ट्रसेवक स्मारिका २०८३ विमोचन भएको छ । समाजले शनिबार राजधानीमा एक विशेष कार्यक्रमबीच स्मारिकाको दोस्रो अंक विमोचन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारले सरकारी सेवामा रहेका सुनुवार समुदायका कर्मचारीहरूले इमानदारी, जिम्मेवारी र समर्पणका साथ कार्य गर्दै समाज तथा राष्ट्र निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए । उनले आगामी दिनमा पनि समुदायको प्रतिष्ठा अझ उँचो बनाउन निष्ठापूर्वक उच्च मनोबलका साथ कार्य सम्पादन गर्न अनुरोध गरे।
कार्यक्रममा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले राज्य तथा राष्ट्र निर्माणमा सुनुवार समुदायका राष्ट्रसेवक कर्मचारीहरूको योगदान महत्त्वपूर्ण रहेको बताए। समाजद्वारा प्रकाशित स्मारिकाको दोस्रो अङ्कले समुदायका योगदान, अनुभव, इतिहास तथा सिर्जनात्मक गतिविधिलाई दस्तावेजीकरण गर्ने उद्देश्य राखेको र उक्त विषयमा समाज सफल भएको उनको भनाई छ।
उक्त कार्यक्रमको अवसरमा आफ्नो जीवनको अमूल्य ३२ वर्ष अनवरत रुपमा राष्ट्रलाई सेवा गरी सेवा निवृत्त भएका सुनुवार राष्ट्रसेवक समाजका संस्थापक सदस्य मोहन बहादुर सुनुवारलाई सेवा निवृत्त जीवन सफल र उर्जाशीलताको कामना सहित सम्मान गरिएको छ ।