१८ असार २०८३, बिहिबार
2 July 2026, Thursday

अमेरिकामा गर्मीको लहर र डढेलोको वितण्डा: १६ करोडभन्दा बढी मानिस जोखिममा

अमेरिकामा गर्मीको लहर र डढेलोको वितण्डा: १६ करोडभन्दा बढी मानिस जोखिममा

न्युयोर्क- जुलाई ४ को बिदा नजिकिँदै गर्दा अमेरिकामा अत्यधिक गर्मीको लहर (हिट वेभ) र भीषण डढेलोले जनजीवन अस्तव्यस्त बनाएको छ। देशका ३५ राज्यका करिब १६ करोड २० लाख मानिस अहिले गर्मीको उच्च जोखिममा परेका छन्।

मौसमविद्हरूका अनुसार यो हप्ता तापक्रम ह्वात्तै बढेर १०० डिग्री फरेनहाइटभन्दा माथि पुग्ने देखिएको छ भने वास्तविक गर्मीको महसुस (हिट इन्डेक्स) ११५ डिग्रीसम्म पुग्न सक्ने अनुमान छ। न्यूयोर्क, सिकागो, वासिङ्टन र बोस्टन जस्ता ठूला सहरहरू यसको चपेटामा परेका छन्। सिकागोका मेयर ब्रान्डन जोन्सनले यो गर्मी निकै खतरनाक हुन सक्ने भन्दै सर्वसाधारणलाई सजग रहन र सहरमा खोलिएका कुलिङ सेन्टरको सहयोग लिन भनेका छन्।

गर्मीसँगै अमेरिकाको पश्चिमी क्षेत्रका जङ्गलहरूमा लागेको डढेलोले थप संकट निम्त्याएको छ। युटाह, कोलोराडो र एरिजोनासहितका क्षेत्रमा ५० भन्दा बढी स्थानमा ठूला डढेलो लागिरहेका छन्। कोलोराडो र युटाहको सीमा क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा तीन जना अग्निनियन्त्रकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। युटाहको कटनवुडमा सल्किएको डढेलो ९३ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिसकेको छ, जसलाई नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरूलाई निकै गाह्रो भइरहेको छ।