न्युयोर्कमा अत्यधिक गर्मीको चेतावनी: मेयर मम्दानीले भने– ‘घरभित्रै बस्नुहाेस्’
- १७ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कमा यो हप्ता अत्यधिक गर्मी हुने सम्भावना बढेपछि मेयर जोहरान मम्दानीले गर्मीको आपतकाल घोषणा गरेका छन्। बुधबारदेखि सुरु हुने यो खतरनाक गर्मी बिहीबार र शुक्रबार सबैभन्दा धेरै हुनेछ भने शनिबारसम्म लम्बिन सक्ने बताइएको छ। यस अवधिमा तापक्रम १०० डिग्रीभन्दा माथि पुग्ने अनुमान छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेयर मम्दानीले भने, “उमसका कारण गर्मी झन् धेरै महसुस हुन सक्छ। तापक्रम ११२ डिग्रीसम्म पुगेको महसुस हुन सक्ने भएकाले यो खतरनाक समय आउनुअघि नै सबै न्युयोर्कवासीले सुरक्षित रहने योजना बनाउन जरुरी छ।”
मानिसहरूलाई गर्मीबाट बचाउन सहरका विभिन्न ठाउँमा चिसो पार्ने गाडी र अस्थायी आश्रयस्थलहरू राखिँदैछ। सडकमा रहेका सूचना दिने मेसिनहरूले मानिसहरूलाई नजिकैको चिसो ठाउँ खोज्न मद्दत गर्नेछन्। समुद्री किनारमा खटिने उद्धारकर्ताहरू नियमित समयमै रहनेछन्। तर, सहरका ठूला पौडी पोखरीहरू भने एक घण्टा समय बढाएर राति ८ बजेसम्म खुला राखिनेछ।
मेयर मम्दानीले गर्मीको समयमा घरभित्रै वा चिसो ठाउँमा बस्न सबैलाई आग्रह गरेका छन्। उनले भने, “यस्तो बेला गर्न सकिने सबैभन्दा राम्रो काम भनेको एसी भएको ठाउँमा घरभित्रै बस्नु हो। दिउँसो सबैभन्दा धेरै गर्मी हुने समयमा बाहिर ननिस्कनुहाेस्।”