अल्जेरियामा संसदीय चुनाव सम्पन्न : ४०७ सांसद छान्न ३२ दल भिड्दै
- १९ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अल्जेरियामा बिहीबार संसदीय चुनावको मतदान सकिएको छ। सन् १९८९ यता यो आठौँ र राष्ट्रपति अब्देलमजिद तेब्बौनेको पालामा भएको दोस्रो चुनाव हो।
तल्लो सदनका ४०७ सांसद छान्न करिब साढे २ करोड मतदाताले भोट हाले। बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मतदान भएको थियो। चुनाव शान्तिपूर्ण बनाउन देशभर सेना र प्रहरी खटिएका थिए।
यसपालि ३२ वटा दल र स्वतन्त्र गरी ७९३ वटा समूह मैदानमा छन्। झन्डै १० हजार उम्मेदवारमध्ये आधाभन्दा बढी ४० वर्षमुनिका युवा छन् भने २१ प्रतिशत महिला छन्।
सन् २०२१ को चुनावमा जम्मा २३ प्रतिशतले मात्र भोट हालेका थिए। त्यतिबेला सत्तापक्षले सबैभन्दा धेरै ९८ सिट जितेको थियो। विश्लेषकहरूले यस पटक पनि सत्तापक्ष र स्वतन्त्र उम्मेदवारले नै धेरै सिट जित्ने अनुमान गरेका छन्।
विदेशमा बस्नेहरूले अघिल्लो हप्ता नै भोट हालिसकेका छन् भने मरुभूमि क्षेत्रमा घुम्ती मतदान केन्द्र लगिएको थियो। चुनावको प्रारम्भिक नतिजा ३ दिनभित्र आउनेछ भने अन्तिम नतिजा संवैधानिक अदालतले घोषणा गर्नेछ। अल्जेरियाको स्वतन्त्रता दिवसको मुखैमा यो चुनाव भएको हो।