भेनेजुएला भूकम्प : ८ दिनपछि भग्नावशेषबाट एक जनाको जीवितै उद्धार
- १९ असार २०८३
- १ मिनेटको पढाई
भेनेजुएला – भेनेजुएलामा गएको शक्तिशाली भूकम्पको ८ दिनपछि भग्नावशेषबाट एक जनाको जीवितै उद्धार गरिएको छ। काटिया ला मार क्षेत्रमा भत्किएको सात तले भवनको भग्नावशेषबाट ४३ वर्षीय सुरक्षा गार्ड हेर्नान गिललाई सकुशल निकालिएको हो।
लामो समय भग्नावशेषमा पुरिएकाले शरीरमा पानीको कमी र मानसिक असर परेको हुनसक्ने भन्दै उनलाई तत्काल अस्पताल भर्ना गरिएको छ। विभिन्न देशका उद्धार टोलीले ३ दिनसम्म लगातार प्रयास गरेर ३ मिटर लामो सुरुङ खनेर उनलाई निकालेका हुन्। उद्धारअघि उनलाई भग्नावशेषभित्रै पाइपबाट पानी र अक्सिजन दिइएको थियो।
भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा भूकम्प जाँदा अहिलेसम्म २३ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ। भूकम्पमा परि ११ हजारभन्दा बढी घाइते छन् भने हजारौँ मानिस अझै बेपत्ता छन्।
भूकम्पका कारण करिब १३ हजार मानिस घरबारविहीन भएपछि सडक र चौरमा पाल टाँगेर बसेका छन्। खाना र पानीको अभावसँगै विभिन्न ठाउँमा लुटपाट मच्चिन थालेपछि सेना र प्रहरीले गस्ती बढाएका छन्। विश्व खाद्य कार्यक्रमले पीडितहरूलाई खाना खुवाउन ५ करोड डलर सहयोगको अपिल गरेको छ।