१९ असार २०८३, शुक्रबार
3 July 2026, Friday

फ्रान्समा भीषण गर्मी : मृत्यु हुनेको सङ्ख्या ३० प्रतिशतले बढ्यो

फ्रान्समा भीषण गर्मी : मृत्यु हुनेको सङ्ख्या ३० प्रतिशतले बढ्यो

फ्रान्स- फ्रान्समा जुन महिनाको अन्तिम साता बढेको अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेको सङ्ख्या झन्डै ३० प्रतिशतले बढेको छ। पूर्ण विवरण आउन बाँकी रहेकाले मृतकको सङ्ख्या अझै थपिन सक्ने त्यहाँको स्वास्थ्य निकायले जनाएको छ।

पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २२ देखिको एक सातामा अघिल्लो साताभन्दा २ हजार २५ जना बढीको मृत्यु भएको छ। सबैभन्दा धेरै असर पेरिसमा परेको छ, जहाँ मृत्युदर ६२ प्रतिशतले बढेको छ।

गत जुनमा फ्रान्समा करिब ११ दिनसम्म तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। जलवायु परिवर्तनसँग जुध्न सरकारले राम्रो तयारी नगरेको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन्। यसै विषयलाई लिएर हरित दलले सरकारविरुद्ध अविश्वास प्रस्ताव नै दर्ता गरेको छ।

स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले अहिलेको अवस्थालाई सन् २००३ को विनाशकारी गर्मीसँग तुलना गर्न नमिल्ने बताइन्। सन् २००३ मा गर्मीका कारण १५ हजार जनाको ज्यान गएको थियो। पेरिस सार्वजनिक अस्पताल प्रणालीका महानिर्देशक निकोलस रेभेलले यस वर्ष ज्यान गुमाउनेको सङ्ख्या सन् २००३ को तुलनामा कम भए पनि गत वर्षको भन्दा बढी हुन सक्ने बताए।