दैलेख दुर्घटना : न गाडी, न यात्रु भेटिए
- २१ असार २०८३
- १ मिनेटको पढाई
दैलेख– बिहीबार बिहान साढे ११ बजे कर्णाली राजमार्गमा एक यात्रुवाहक फोर्स गाडी दुर्घटनामा पर्यो। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटनामा परेको हो।
सडकबाट करिब ५ सय मिटर तल कर्णाली नदीमा खसेको सो गाडी ३ दिन बितिसक्दासमेत भेटिएको छैन भने यात्रुहरू पनि बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार विकका अनुसार शनिबार साँझसम्म कर्णाली नदीमा खसेको गाडी र यात्रुहरू फेला परेका छैनन्।
गाडीमा सवार ५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले उनीहरूको पहिचान सार्वजनिक गरेको हो।
सनाखत भएकामध्ये चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका हुन्। त्यस्तै सिर्जना खड्का कालीकोटको रास्कोट नगरपालिका–२ खड्कागाउँकी हुन् भने मेखे तिरुवा र जोखे तिरुवा कालीकोटकै पचालझरना गाउँपालिका–१ का बासिन्दा हुन्। दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरेपछि पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ।
गाडीमा अन्य यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान जारी छ। सुरक्षा निकायले कर्णाली नदीको बहावलाई मध्यनजर गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्य तीव्र पारेको छ।
कर्णालीको तीव्र बहाव, धमिलो पानी र भिरालो भूगोलका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय नागरिकको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।