स्पेनको क्याटालोनियामा अनियन्त्रित डढेलो: १० हजार प्रभावित, एक पक्राउ
- २२ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा शुक्रबार साँझदेखि लागेको डढेलो अनियन्त्रित बनेको छ। तीव्र हावाहुरीका कारण फैलिएको आगोले हालसम्म करिब २,३०० हेक्टर जमिन सखाप पारेको छ भने नजिकैको प्रकृति संरक्षण क्षेत्रसम्म पुगेको छ।
आगो बस्तीमा पस्ने जोखिम बढेपछि जिरोना प्रान्तका करिब १० हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। कतिपयलाई भने घरभित्रै बस्न निर्देशन दिइएको छ। धेरै सडक बन्द गरिए पनि हालसम्म मानवीय क्षति भने भएको छैन र सबै सुरक्षित छन्।
आगो निभाउन ४०० भन्दा बढी अग्निनियन्त्रक, हेलिकप्टर र विशेष विमान परिचालन गरिएको छ। स्पेनको सेनाले पनि २०० सैनिक र ६० वटा सवारी साधन पठाएर नियन्त्रणमा सघाएको छ।
जिरोना क्षेत्रका अग्नि नियन्त्रण कार्यदल प्रमुख फेरान गार्सियाले आगो नियन्त्रण बाहिर जान सक्ने जोखिम रहेको बताए। उनले अहिले आगोलाई एउटा निश्चित घेराभित्र रोक्ने र क्षति कम गर्ने प्रयास भइरहेको जानकारी दिए।
यसैबीच, आगलागी गराएको आशंकामा प्रहरीले एक कामदारलाई पक्राउ गरेको छ। सडक मर्मत गर्ने मेसिनबाट निस्किएको झिल्कोले आगो सल्केको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।