२४ असार २०८३, बुधबार
8 July 2026, Wednesday

कोअला जोगाउन अस्ट्रेलियामा पहिलो शुक्रकीट र डिम्ब बैंक

कोअला जोगाउन अस्ट्रेलियामा पहिलो शुक्रकीट र डिम्ब बैंक

सिड्नी- अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयले कोअलाको वंशाणुगत विविधता जोगाउन पहिलो पटक व्यवस्थित ‘शुक्रकीट र डिम्ब बैंक’ स्थापना गर्ने भएको छ। बासस्थानको विनाश र रोगका कारण संकटमा परेका कोअला संरक्षण गर्न यो काम सुरु गरिएको हो।

विश्वविद्यालयका प्रजनन जीवविज्ञानी एन्ड्रेस गाम्बिनीले अस्पतालमा कोअला मर्दा खेर गइरहेको महत्त्वपूर्ण आनुवंशिक तत्व यस बैंकमार्फत सुरक्षित गरिने बताए। “वंशाणुगत विविधता नहुँदा भावी पुस्ता कमजोर हुन्छ,” उनले भने। मृत वा सन्तान जन्माउन नसक्ने कोअलाबाट नमुना संकलन गरी सुरक्षित राखिने उनको भनाइ छ।

यसअघि कृत्रिम गर्भाधानबाट विश्वकै पहिलो कोअला जन्माउन सफल यस विश्वविद्यालयले संकलित नमुना तरल नाइट्रोजनमा राख्नेछ। वन्यजन्तु प्रजनन विशेषज्ञ स्टिभ जोन्स्टनले यी नमुना भविष्यमा कृत्रिम गर्भाधानमा प्रयोग गरिने बताए।

अनुसन्धानकर्ताले कोअलाको प्रजननमा असर गर्ने संक्रमण नमुनाबाटै हटाउने प्रविधि पनि विकास गरेका छन्। गाम्बिनीले यो बैंक बासस्थान संरक्षणको विकल्प नभई कोअला जोगाउने एउटा महत्त्वपूर्ण सहयोगी माध्यम भएको बताए।