भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन पुर्दा १६ जना पुरिएको आशंका
- २६ असार २०८३
- १ मिनेटको पढाई
भारत- भारतको पश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षाका कारण फोहोरको ठूलो थुप्रो एउटा तीनतले भवनमाथि खसेको छ। यस घटनामा १६ जना भग्नावशेषमा पुरिएको आशंका छ।
स्थानीय अधिकारीहरूका अनुसार बुधबार दुर्घटना हुँदा भवनभित्र २० जना थिए। तीमध्ये चार जना भागेर ज्यान जोगाउन सफल भए पनि बाँकी १६ जना कर्मचारी भित्रै फसेको बताइएको छ।
घटनालगत्तै प्रहरी, दमकल र विपद् व्यवस्थापनको टोली उद्धारका लागि घटनास्थल पुगेका छन्। लगातारको वर्षाले फोहोरको थुप्रो खुकुलो भएर भवनमाथि खसेको अनुमान गरिएको छ।
भारतमा मनसुन सुरु भएसँगै केही दिनयता महाराष्ट्रका पुणे र मुम्बई लगायतका क्षेत्रमा लगातार पानी परिरहेको छ। यसले त्यहाँको जनजीवन प्रभावित बनेको छ।