२६ असार २०८३, शुक्रबार
10 July 2026, Friday

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ७ वर्षको जेल सजाय सदर

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ७ वर्षको जेल सजाय सदर

न्युयोर्क – दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई सात वर्षको जेल सजाय सुनाउने तल्लो अदालतको फैसला बिहीबार सदर गरेको छ। पक्राउ पर्ने क्रममा अवरोध पुर्‍याएको अभियोगमा उनलाई यो सजाय सुनाइएको हो।

सर्वोच्च अदालतले तल्लो अदालतको निर्णय सही भएको ठहर गर्दै विपक्षीका सबै पुनरावेदन खारेज गरेको प्रधानन्यायाधीश ली ह्युङ–गुले बताए। सन् २०२४ को डिसेम्बरमा पदबाट हटाइएका युनले सैन्य शासन घोषणा गरेपछि उनीविरुद्ध सर्वोच्च अदालतले गरेको यो पहिलो फैसला हो। यसअघि सियोल उच्च अदालतले उनको सजाय पाँच वर्षबाट बढाएर सात वर्ष पुर्‍याएको थियो।

अनुसन्धान टोलीले भने सुरुदेखि नै युनलाई १० वर्षको जेल सजाय माग गर्दै आएको थियो। पूर्वराष्ट्रपति युनमाथि सन् २०२५ को जनवरीमा भ्रष्टाचार विरोधी निकायको पक्राउ पुर्जी कार्यान्वयन रोक्न सुरक्षाकर्मीको दुरुपयोग गरेको आरोप लागेको थियो। त्यतिबेला सुरक्षाकर्मीले बस र मानव साङ्लो बनाएर अनुसन्धानकर्तालाई राष्ट्रपति निवास पस्न दिएका थिएनन्।

यसबाहेक, युनमाथि सैन्य शासन घोषणा गर्नुअघि केही मन्त्रीहरूलाई बैठकमा सहभागी हुन नदिएर शक्तिको दुरुपयोग गरेको आरोप पनि छ। सैन्य शासन खारेज भएपछि उनले नक्कली कागजात तयार पारेको र सञ्चारमाध्यमलाई गलत सूचना दिन आदेश दिएको पनि पुष्टि भएको छ।

युनले सन् २०२४ डिसेम्बर ३ को राति आकस्मिक रूपमा सैन्य शासन घोषणा गरेका थिए। त्यसलाई केही घण्टापछि नै राष्ट्रिय सभाले खारेज गरिदिएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा उनलाई सन् २०२५ को जनवरीमा पक्राउ गरिएको थियो। पदमै रहँदा पक्राउ पर्ने र मुद्दा खेप्ने युन दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन्।